काठमाडौं । धनुषामा विकास निर्माण तथा सेवाप्रवाहका सम्बन्धमा देखिएका समस्या समाधान गर्न तीनै तहका सरकार मिलेर अगाडि बढ्नुपर्नेमा सरोकारवालाले जोड दिनुभएका छन् ।
जिल्ला प्रशासन कार्यालय धनुषाले आज आयोजना गरेको जिल्लामा विकास निर्माण तथा सेवा प्रवाहसम्बन्धी अन्तरक्रियाका वक्ताहरुले तीन तहका सरकार मिलेर अगाडि बढेमा मात्रै प्रभावकारी कार्यसम्पादन हुने धारणा राख्नुभयो ।
कार्यक्रममा प्रतिनिधिसभा सांसद एवं पूर्वउपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले स्थानीय तहमा जनप्रतिनिधि र कर्मचारीमा हुने विवादले विकास निर्माण तथा प्रभावकारी सेवा प्रवाहमा अवरोध सिर्जना भइरहेकाले मिलेर अगाडि बढ्न आग्रह गर्नुभयो ।
उहाँले जनप्रतिनिधि र कर्मचारीबीचको आपसी समझदारी र मेलमिलापले मात्रै उपलब्ध स्रोतसाधनको अधिकतम उपयोग र राम्रो नतिजा दिन सकिने धारणा राख्नुभयो । “धेरै जनप्रतिनिधि म कहाँ आएर कर्मचारीले सहयोग नै गरेन भनेर गुनासो गर्नुहुन्छ । कर्मचारीले पनि जनप्रतिनिधिप्रति थुप्रै गुनासो गर्नुहुन्छ । यस्तो अविश्वास र असमझादारीले राम्रो प्रतिफल दिन सक्दैन । त्यसैले तपाईँहरु मिलेर काम गर्नुहोस्, ठूला योजना ल्याउन र अरु सहयोग गर्न हिजोका दिनमा जस्तै मलगायत सांसदले तयार छौँ । आआफ्नो कार्यालय र स्थानीय तहमा क्षेत्राधिकारको अधिनमा रहेर काम गर्नुहोस्”, निधिले भन्नुभयो ।
कार्यक्रममा प्रतिनिधिसभा सांसद एवं एमाले नेतृ जुलीकुमारी महतो महासेठले पनि जिल्लामा देखिएका समस्या समाधानका लागि सबै मिलेर जानुको विकल्प नभएको बताउनुभयो । स्थानीय, प्रदेश र सङ्घीय सरकारका निकायले जनताको हितमा काम गर्नसक्नुपर्ने बताउँदै उहाँले सङ्घीय जनप्रतिनिधिका हिसाबले आफूहरु जस्तो सुकै सहयोग गर्न तयार रहेको बताउनुभयो ।
अधिकांश कार्यालयका प्रमुख तथा प्रतिनिधिहरुले पर्याप्त बजेटको अभाव, कार्यान्वयनमा आइसकेका योजनाको दीगो व्यवस्थापन, भौतिक पूर्वाधार निर्माण र जनशक्तिको उपलब्धताजस्ता समस्याका कारण आफ्नो क्षेत्राधिकारमा रहेका काम गर्न पनि कठिनाइ भइरहेको धारणा राख्नुभएको थियो ।
प्रमुख जिल्ला अधिकारी काशिराज दाहालले जिल्लामा विकास निर्माण र सेवा प्रवाहका सन्दर्भमा बेलाबेला देखिने समस्या र विवादको समाधानका लागि एउटा सहजीकरण समितिको आवश्यकता महसुस भएकाले प्रतिनिधिसभा सांसदहरुले त्यस्तो समिति बनाउन कानुनी आधार तयार गर्न पहल गर्नुपर्ने बताउनुभयो । त्यसैगरी १८ वटा पालिका रहेको धनुषा जिल्लामा ढल्केबर र धनुषाधाममा इलाका प्रशासन कार्यालय स्थापना गरी सहज सेवा प्रवाहको आधार तयार गर्न राजनीतिक दल तथा जनप्रतिनिधिहरुलाई उहाँले आग्रह गर्नुभयो ।
कार्यक्रममा सङ्घ, प्रदेश तथा स्थानीय तहका विभिन्न २८ वटा सेवा प्रदायक कार्यालय, आयोजना तथा परियोजनाका प्रमुख एवं प्रतिनिधिले क्षेत्राधिकारभित्रका समस्या र चुनौतिका विषयमा जानकारी गराउनुभएको थियो भने जनप्रतिनिधिहरुले समस्या समाधानका लागि राजनीतिक तबरबाट सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो रासस