‘राष्ट्रियसभामा सत्ता पक्ष र प्रतिपक्ष हुनु हुन्न’

राष्ट्रिय सभाका सदस्यले बैठकमा सत्ता पक्ष र प्रतिपक्षको मात्र भूमिका निर्वाह गर्न नहुनेमा जोड दिनुभएको छ ।

‘राष्ट्रियसभामा सत्ता पक्ष र प्रतिपक्ष हुनु हुन्न’

काठमाडौं । राष्ट्रिय सभाका सदस्यले बैठकमा सत्ता पक्ष र प्रतिपक्षको मात्र भूमिका निर्वाह गर्न नहुनेमा जोड दिनुभएको छ ।

आजको बैठकमा समापन मन्तव्य राख्नुहुँदै नेपाली कांग्रेसका नेता रमेशजङ्ग रायमाझीले राष्ट्रियसभा सङ्घीय संसद्को गरिमामय सभा भएकाले बैठकमा सदस्यहरुले प्रतिनिधिसभाको जस्तो सत्ता पक्ष र प्रतिपक्ष नहुनुपर्ने भए पनि त्यस्तै भइरहेको बताउनुभयो । उहाँले राष्ट्रियसभामा सदस्यको भूमिका सत्ता पक्ष र प्रतिपक्षको मात्र भूमिका नभइ देश र जनताको पक्ष तथा जनहितका लागि पनि हुनुपर्ने बताउनुभयो ।

नेपाल कम्युनिष्ट पार्टी (एमाले) का नेता भैरवसुन्दर श्रेष्ठले विधेयक अधिवेशनका रुपमा चिनिने अहिलेको अधिवेशनमा १९ बैठक भए पनि नयाँ विधेयक आउन नसकेको बताउनुभयो । नेकपा (माओवादी केन्द्र) का सांसद गोपीबहादुर सार्की आछामीले सभामा जनसरोकारका विषय आएकामा सरकारबाट त्यसको सम्बोधन भएको भनी सरकारको प्रशंसा गर्नुभयो बताउनुभयो । 

नेकपा (एकीकृत समाजवादी) का जयन्तीदेवी राईले अर्थतन्त्रलाई सुधार्न, भ्रष्टाचार नियन्त्रण गर्न, सङ्घीयता बलियो बनाउन र मुलुक समृद्धिका लागि सबै दल एक ठाउँमा उभिनुपर्ने बताउनुभयो । जनता समाजवादी पार्टी नेपालका प्रमिला कुमारीले यस अधिवेशनमा सदनमा प्रवेश गरेका विधेयकमा केही काम भए पनि जनताका हितमा आवश्यक विधेयक पारित हुन नसकेको बताउनुभयो । उहाँले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थालाई संस्थागत गर्दै संविधानमा रहेका कमीकमजोरीलाई समयसापेक्ष परिमार्जन गर्न आवश्यक रहेकामा जोड दिनुभयो ।

लोकतान्त्रिक समाजवादी पार्टी नेपालका शेखरकुमार सिंहले नेपाल कृषि प्रधान मुलुक भएकाले आगामी बजेटमा कृषिका कार्यक्रममा जोड दिनुपर्ने बताउँनुभयो । उहाँले सङ्घीयतालाई संस्थागत गरी बलियो बनाउन सबै एकजुट हुनुपर्नेमा जोड दिनुभयो । रासस

खबरपाटी
खबरपाटी