जनकपुरको भानुचोकमा आदिकवि भानुभक्तको सालिक राखिँदै

धनुषाको जनकपुरधामस्थित भानुचोकमा आदिकवि भानुभक्त आचार्यको सालिक १६ वर्षपछि पुनःस्थापना हुने भएको छ ।

जनकपुरको भानुचोकमा आदिकवि भानुभक्तको सालिक राखिँदै

काठमाडौं । धनुषाको जनकपुरधामस्थित भानुचोकमा आदिकवि भानुभक्त आचार्यको सालिक १६ वर्षपछि पुनःस्थापना हुने भएको छ । 

शनिबार एक कार्यक्रमका बीच जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख मनोजकुमार साह र उपप्रमुख किशोरी साहले सालिक पुनःस्थापनाका लागि निर्माण शुभारम्भ गर्नुभयो । 
 
पञ्चायतकालदेखि भानुचोक नामाकरण गरी राखिएको आदिकवि आचार्यको सालिक २०६२÷६३ को मधेस आन्दोलनका क्रममा भत्केकामा नगरपरिषद्को निर्णयबमोजिम पुनःनिर्माण सुरु गरिएको नगरप्रमुख साहले जानकारी दिनुभयो । उहाँले आदिकवि आचार्य राजनीतिक व्यक्ति नभएकाले पञ्चायतकालदेखि नै जनकपुरधाममा प्रसिद्ध भानुचोकमा स्थानीय उपभोक्ता समितिमार्फत सालिकसहितको संरचना पुनःनिर्माण सुरु भएको बताउनुभयो ।
 
नगरउपप्रमुख किशोरी साहले पनि चालु आर्थिक वर्षको बजेटमा विनियोजित रु २० लाख लागतमा सालिक र सालिकस्थल पुनःनिर्माण गरिने बताउनुभयो । मधेसवादी दलसम्बद्ध विद्यार्थी तथा युवा सङ्गठनले भने यस कार्यको विरोध गरेका छन् । निर्माण स्थलमा ठूलो सङ्ख्यामा उपस्थित भएका जनता समाजवादी पार्टी ९जसपा०, लोकतान्त्रिक समाजवादी पार्टी ९लोसपा०, जनमत पार्टीलगायत दल निकट विद्यार्थी तथा समर्थकले नाराबाजीसहित विरोध गरेका हुन् । 

साविक भानुचोकमा आदिकवि आचार्यको नभई मधेस आन्दोलनका प्रथम सहिद रमेश महतोको सालिक निर्माण हुनुपर्ने मधेशवादी सङ्गठनहरूको माग छ । यसअघि शुक्रबार संयुक्त युवा विद्यार्थी मोर्चाको नाममा पाँच सङ्गठनले संयुक्त विज्ञप्ति जारी गर्दै विरोध जनाएका थिए ।
 
आन्दोलन र नाराबाजीकै बीच गरिएको शिलान्यास कार्यक्रमपछि नगरप्रमुख साहले मधेसी सहिदहरूको सम्मानका लागि यसअघि नै नगरपालिकाले सहिदगेट निर्माण गरी रमेश महतोलगायतका सहिदहरूको सालिक राखिसकेकाले विरोध नगर्न आग्रह गर्नुभएको थियो । 

“आदिकवि भानुभक्त आचार्य राजनीतिक व्यक्ति हुनुहुन्न । उहाँको नाममा वर्षौँ पहिले भानुचोक नामकरण भई सालिकसमेत राखिसकेको अवस्था हो । त्यसैले यसलाई राजनीतिक रङ्ग दिन जरुरी छैन”, उहाँले भन्नुभयो । रासस

खबरपाटी
खबरपाटी