काठमाडौं । जिल्ला विपद् व्यवस्थापन समिति खोटाङले प्राकृतिक विपत्तिमा परेका सर्वसाधारणलाई तत्काल उद्धार तथा राहत उपलब्ध गराउने योजनाअनुसार तयारी पारिएको उद्धारसम्बन्धी अभ्यास गरेको छ । नेपाली सेनाको गोरखनाथ गण मुडे ब्यारेकको नेतृत्वमा आज दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्लेस्थित दिक्तेल–आहाले सडकखण्डमा अभ्यास प्रदर्शन गरिएको हो ।
प्राकृतिक विपत्तिमा परेका सर्वसाधारणलाई तत्काल उद्धार गर्ने लक्ष्यका साथ पूर्वतयारीस्वरुप अभ्यास प्रदर्शन गरिएको जिल्ला विपद् व्यवस्थापन समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी सूर्यप्रसाद सेढाईँले बताउनुभयो । “नेपालमा मनसुन सुरु हुन लागेको छ । मनसुनको समयमा बाढी, पहिरोलगायत विभिन्न प्रकारका प्राकृतिक विपत्ति आइपर्न सक्छन्”, उहाँले भन्नुभयो, “प्राकृतिक विपत्तिमा परेका सर्वसाधारणलाई तत्काल उद्धार गर्ने उद्देश्यले जिल्लामा संयुक्त उद्धार समितिसमेत गठन गरिएको छ । सोही संयुक्त उद्धार समितिले पूर्वतयारीस्वरुप अभ्यास प्रदर्शन गरेको हो ।”
नेपाली सेना, जनपद प्रहरी तथा सशस्त्र प्रहरी र नेपाल रेडक्रस सोसाइटी खोटाङको संयुक्त उद्धार टोलीले पहिरो तथा खोँचमा फसेका व्यक्तिको उद्धार, प्राथमिक उपचार तथा स्वस्थ्य संस्थासम्म पु¥याउन अपनाइने विधिका बारेमा अभ्यास प्रदर्शन गरेका छन् । संयुक्त उद्धार टोलीले प्रदर्शन गरेको अभ्यास अवलोकन गर्न दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका उपप्रमुख विशन राई, प्रमुख जिल्ला अधिकारी सेढाईँ, मुडे ब्यारेकका गणपति सुजन गुरुङ, जिल्ला प्रहरी कार्यालय खोटाङका प्रमुख प्रहरी नायब उपरीक्षक मञ्जिल मुकारुङ, सशस्त्र प्रहरी बल नेपाल नं ७ गुल्म खोटाङका गुल्मपति कृष्णबहादुर बम, रेडक्रस खोटाङका मन्त्री छत्रकुमार बजिमय, नेपाल पत्रकार महासङ्घ खोटाङका अध्यक्ष दिलीप खत्री, सर्वसाधारणलगायत खाल्ले पुगेका थिए ।
संयुक्त उद्धार समितिले प्रदर्शन गरेको अभ्यासले सर्वसाधारणलाई समेत सचेत रहन तथा उद्धारमा संलग्न हुनुपर्ने ज्ञान प्राप्त भएको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका उपप्रमुख विशन राईले बताउनुभयो । “विपद् व्यवस्थापन समितिले गरेको अभ्यास प्रदर्शनले यो देशमा राज्यको उपस्थिति रहेको छ भन्ने आभास झल्काएको छ”, उहाँले भन्नुभयो, “प्राकृतिक विपत्तिमा परेकालाई तत्काल उद्दार तथा राहत उपलब्ध गराउन राज्यको दायित्वभित्र पर्छ । हाम्रो नगरपालिकामा उद्धार तथा राहत वितरण टोली तयारी अवस्थामा राखेका छौँ । जिल्ला विपद् व्यवस्थापन समितिसँग सहकार्य गरेर अगाडि बढ्छ ।”
प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा गठित जिल्लास्तरीय विपद् व्यवस्थापन समितिको सदस्यमा जिल्ला समन्वय समितिका प्रतिनिधि, जिल्लास्थित सबै स्थानीय तह, सुरक्षा निकायका प्रमुख, जिल्ला स्वास्थ्य कार्यालय, राष्ट्रिय दलको मान्यताप्राप्त राजनीतिक दलका प्रतिनिधि, जिल्लास्थित पूर्वाधार तथा सामाजिक विकाससँग सम्बन्धित कार्यालय, नेपाल पत्रकार महासङ्घ, गैरसरकारी संस्था महासङ्घ र उद्योग वाणिज्य सङ्घ रहने छन् । जिल्लास्तरीय समितिको सदस्यसचिव प्रमुख जिल्ला अधिकारीले तोकेको अधिकृत रहने व्यवस्था छ ।
जिल्लाका दशवटै स्थानीय तहमा स्थानीयस्तरको विपद् व्यवस्थापन समिति गठन गरेर तयारी अवस्थामा रहन जिल्लास्थित सबै स्थानीय तहलाई अनुरोध गरिएको संयोजक सेढार्इँले बताउनुभयो । दश स्थानीय तह रहेको खोटाङमा दुई नगरपालिका र आठ गाउँपालिका छन् । रासस