बेलौरीका स्थानीय बाघको त्रासमा

कञ्चनपुरको दक्षिणी क्षेत्रमा पर्ने बेलौरी नगरपालिकाका स्थानीयवासी बाघको त्रासमा छन् ।

बेलौरीका स्थानीय बाघको त्रासमा

काठमाडौं । कञ्चनपुरको दक्षिणी क्षेत्रमा पर्ने बेलौरी नगरपालिकाका स्थानीयवासी बाघको त्रास छन् । बेलौरी नगरपालिका–८ पचुइमा बाघको आक्रमणबाट एक जनाको ज्यान गएपछि त्यस क्षेत्रका स्थानीयमा त्रास बढेको हो ।

वैशाख ८ मा घाँस काट्न गएकी बेलौरी नगरपालिका–८ की गङ्गा चन्दको बाघको आत्रमणबाट ज्यान गएको थियो । घटनापछि स्थानीय त्रसित भएको बेलौरी नगरपालिका–८ का स्थानीय महेन्द्र विष्टले बताउनुभयो । “त्यसपछि बाघ देखिएको छैन, बाघ हिँडेको नयाँ पाइलाहरु देखिएकाले अझै बाघ रहेको आशङ्का छ”, उहाँले भन्नुभयो, “घटनापछि स्थानीयमा डर छ, सामान्य अवस्थामा फर्किन सकेका छैनौँ ।”

उहाँका अनुसार बाघको आक्रमणपछि त्रसित स्थानीयको दैनिकी नै प्रभावित भएको छ । “घाँसपात जान पनि महिला डराएका छन्, कति बेला के हुन्छ भनेर ढुक्कसँग खेतीपाती भित्र्याउन पनि सकेका छैनन्”, स्थानीय विष्टले भन्नुभयो, “स्थानीयमा त्रास रहेकाले सामान्य अवस्थामा फर्किन अझै समय लाग्छ ।”

पचुइमा महिलाको ज्यान लिने नरभक्षी बाघलाई अर्को दिन बर्दिया राष्ट्रिय निकुञ्ज र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको प्राविधिक टोलीले नियन्त्रणमा लिएको थियो । मानिसमाथि आक्रमण गर्ने बाघ अहिले चिडियाखाना थुनिएको छ । यसअघि चैत १० भारतको दुधुवा नेशनल पार्कमा मेलापात गएकी पुनर्वास नगरपालिका–१० मदनटोलकी ३२ वर्षीया कलसा सार्कीको बाघको आक्रमणबाट मृत्यु भएको थियो ।

    एक हप्तापछि चैत १७ गते बेलौरीसँग सीमा जोडिएको भारतीय गाउँमा पनि बाघको आक्रमणबाट भारतीय महिलाको मृत्यु भएको थियो । पुनःवास र बेलौरी आसपासका क्षेत्रमा बाघको आक्रमणका मानिसको ज्यान गएपछि त्यस क्षेत्रका स्थानीय त्रास बढेको हो । 

बाघले महिलाको ज्यान लिएको खप्टी नालासहित नेपाल–भारत सीमा क्षेत्रमा सशस्त्र प्रहरी र जनपद प्रहरीले साइरन बजाएर गाडीमा गस्ती गरिरहेका छन् । तर अझै स्थानीयमा बाघको त्रास कम हुन नसकेको बेलौरी नगरपालिका–८ का अध्यक्ष बिश्राम रानाले बताउनुभयो ।

“गहुँ थ्रेसिङ गरेपछिको भुसासमेत त्यस क्षेत्रका स्थानीयले डरले ल्याउन सकेका छैनन्”, उहाँले भन्नुभयो, “राति पर्ने वित्तिकै स्थानीय घर बाहिर निस्कन डराइरहेका छन् ।” त्यस क्षेत्रमा पर्ने हुलाकी राजमार्ग भएर दिनमा मानिसको ओहोरदोहोर भए पनि बाघको त्रासले रातिमा मानिसको आवातजावत निकै कम भएको उहाँले बताउनुभयो । 

मानिसमा आक्रमण गर्ने बाघको जोडी सो क्षेत्रमा हुनसक्ने भन्दै स्थानीय त्रसित छन् । बाघले महिलामाथि आक्रमण गरेको खप्टी नाला क्षेत्रमा ठूलो घना जङ्गल छैन ।  त्यहाँको करिब दुई किलोमिटर क्षेत्रको घना झाडी सफा गर्ने तयारी गरिएको छ । “झाडीमा बाघ लुक्ने सम्भावना छ, त्यसैले वडा कार्यालयले झाडी सफा गर्ने तयारी गरेको छ”, अध्यक्ष रानाले भन्नुभयो, “यसले सो क्षेत्र खुल्ला हुन्छ, झाडी नहुँदा बाघ नबस्ने र स्थानीयको डर कम हुनेछ ।”   रासस

खबरपाटी
खबरपाटी