काठमाडौं । उत्तरी रसुवाका विद्यालयमा अध्ययनरत सबै छात्रछात्रालाई पहिलो पटक विद्यालय पोसाक वितरण गरिएको छ ।
हिमाली क्षेत्रका छात्रछात्रालाई चिसोबाट सुुरक्षित राख्दै पठनपाठनमा जागरण ल्याउन गोसाइँकुण्ड गाउँपालिकाले विद्यालय पोशाकको व्यवस्थापन गरेको हो । आइतबार एक विशेष कार्यक्रमअन्तर्गत रसुवा मावि धुञ्चेका तीन सय ५० छात्रछात्रालाई पोसाक वितरण गरिएको थियो । गोसाइँकुण्ड गाउँपालिका अध्यक्ष कैसाङनुर्पु तामाङले गाउँपालिकाअन्तर्गत अध्ययनरत सबै विद्यालयका छात्राछात्रालाई पोसाक वितरण कार्य सुरू गरिएको भन्दै यसबाट १५ विद्यालयका एक हजार एक सय १० छात्रछात्रा लाभान्वित बन्ने बताउनुभयो ।
आफूले देशभरकै नमूना काम अगाडि बढाएको उल्लेख गर्दै उहाँले सबैलाई निःशुल्क शिक्षा प्रदान गर्ने नीति अनुरूप शिक्षाको जागरण बढाउन विद्यालय पोशाक वितरण एवं दिवा खाजा, आवातजावतका लागि बस, छात्रावास र उच्च शिक्षा अध्ययन गर्नेका लागि छात्रृवृद्वि प्रदान गर्ने बताउनुभयो ।
रसुवा अस्पतालमा प्रसूति सेवा सुरू
रसुवा जिल्ला अस्पतालमा आजदेखि प्रसूति सेवा सुरु भएको छ । हिमाली जिल्ला रसुवाका लागि पहिलो पटक शल्यक्रियासहितको प्रसूति सेवा सुरू भएको हो । सो सेवाको आज बागमती प्रदेशसभा सदस्य प्रभात लामाले धुञ्चेमा उद्घाटन गर्दै प्रसूति सेवा सञ्चालनलाई निरन्तरता दिन बागमती प्रदेशको तर्फबाट आफूले सहयोग जुटाउने बताउनुभयो ।
शल्यक्रियामार्फत बच्चा जन्माउन दक्ष चिकित्सकसहितको समूह तयार भइसकेको र सो सेवालाई निरन्तरता दिन निक्स साइमन इन्स्टिच्युटले चिकित्सक उपलब्ध गराई रसुवा जिल्लालाई ठूलो गुन लगाएको रसुवा अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा अमितकुमार शाहले जानकारी दिनुभयो ।
खर्च अभावमा काठमाडौँ जान नसकी स्थानीयस्तरमै सुत्केरी बेथा लागेका महिलालाई शल्यक्रियाबाट तत्काल बच्चा जन्माउन प्रसूति सेवा हिमाली क्षेत्रका बासिन्दा माझ जनहितकारी भएको प्रदेशसभा सदस्य तामाङले बताउनुभयो ।
अस्पतालमा भएको नयाँ व्यवस्थाले सुत्केरी बेथा लागेका गर्भवतीलाई एयर एम्बुलेन्सबाट काठमाडौँ लानपर्ने समस्या क्रमशः हट्दै जाने अस्पताल व्यवस्थापन समितिका अध्यक्ष दुर्गाप्रसाद आचार्यले बताउनुभयो ।
––– रासस