गण्डकीमा अन्तर्राष्ट्रियस्तरको क्रिकेट रङ्गशालाः मुख्यमन्त्री पाण्डे

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रदेशमा अन्तर्राष्ट्रियस्तरको क्रिकेट रङ्गशाला निर्माण गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

गण्डकीमा अन्तर्राष्ट्रियस्तरको क्रिकेट रङ्गशालाः मुख्यमन्त्री पाण्डे

काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रदेशमा अन्तर्राष्ट्रियस्तरको क्रिकेट रङ्गशाला निर्माण गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

अन्तर्राष्ट्रिय मापदण्डको क्रिकेट रङ्गशालाका लागि यही वर्षदेखि आवश्यक बजेट विनियोजन गरी पूर्वाधार निर्माणको थालनी गरिने उहाँले बताउनुभयो । एसिसी प्रिमियर कप क्रिकेट प्रतियोगिताको फाइनल खेलमा आज नेपालले युनाइटेड अरब इमिरेट्स ९युएई० लाई पराजित गरी एसिया कपमा छनोट भएपछि नेपाली टोलीलाई सामाजिक सञ्जालबाट बधाई ज्ञापन गर्दै मुख्यमन्त्री पाण्डेले क्रिकेट खेलका आवश्यक पूर्वाधार निर्माण सरकारको प्राथमिकतामा रहेको उल्लेख गर्नुभयो ।

कमजोर खेल पूर्वाधारका बीचमा नेपाली टोलीले उच्चस्तरीय प्रदर्शन गरेकामा उहाँले टिमका सबै खेलाडीलाई बधाई ज्ञापन गर्नुभएको छ । मुख्यमन्त्री पाण्डेले भन्नुभयो, “नेपालको जीत सारा नेपालीको भावनासँग जोडिएको छ । कमजोर पूर्वाधारका बीच यति उच्चस्तरीय प्रदर्शनबाट पुलकित भएको छु । साथै गण्डकीको क्रिकेट विकासका लागि सरकारको नेतृत्वका हिसाबले केही नयाँ गर्ने अठोट लिएको छु ।”

गण्डकी प्रदेशमा अन्तर्राष्ट्रिय मापदण्डको क्रिकेट स्टेडियम निर्माणका लागि प्रदेश सरकारले पटकपटक नीति कार्यक्रम तथा बजेटमा समावेश गरे पनि काम अघि बढ्न सकेको छैन । यसअघि विसं २०७७ मा पोखरा महानगरपालिका–३३ भरतपोखरीस्थित पशुपतिघाटमा क्रिकेट मैदान निर्माणका लागि प्रदेश सरकारले विस्तृत आयोजना प्रतिवेदन ९डिपिआर० बनाएको थियो ।

पशुपतिघाटको एक सय १७४ रोपनी क्षेत्रफल जमिनमा २० हजार दर्शक क्षमताको क्रिकेट रङ्गशाला बनाउने योजना बनाए पनि त्यसपछिका अन्य काम भने सुरु हुन सकेको छैन । पोखरा रङ्गशालाभित्रको एक मात्र क्रिकेट मैदानमा अहिले विभिन्न क्रिकेटका प्रतियोगिता सञ्चालन हुँदै आएको छ । अन्तर्राष्ट्रिस्तरका प्रतियोगिताका लागि वैकल्पिक मैदान अनिवार्य हुने भएकाले पूर्वाधार अभावमा ठूला प्रतियोगिता हुन सकेको छैन ।रासस

खबरपाटी
खबरपाटी