धादिङको गणेशखोला पुलमा फेरि भ्वाङ, सवारी आवागमन बन्द

बन्द भएको १८ घण्टापछि हिजो (मङ्गलबार) दिउँसोबाट एकतर्फी खुलेको राजमार्ग आज १२ बजेदेखि फेरि बन्द भएको हो

धादिङको गणेशखोला पुलमा फेरि भ्वाङ, सवारी आवागमन बन्द

काठमाडौं । पृथ्वी राजमार्ग अन्तर्गत धादिङको धार्केस्थित गणेश खोला पुलमा फेरि जमिन भासिएको छ । बन्द भएको १८ घण्टापछि हिजो (मङ्गलबार) दिउँसोबाट एकतर्फी खुलेको राजमार्ग आज १२ बजेदेखि फेरि बन्द भएको हो ।

धुनिबैँशी नगरपालिका–६ र थाँक्रे गाउँपालिका–८ को सिमाना जोड्ने गणेश खोला पुलको मुखमा जमिन भासिएर ग्याबिन जाली लगाएकै ठाउँमा फेरि भ्वाङ परेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायब उपरीक्षक सन्तुलालप्रसाद जैसवारले जानकारी दिए । पुलको मुखमा सडक भ्वाङ परेपछि अहिले दुबै तर्फी सवारी आवागमन बन्द भएको छ ।

नयाँ पुल निर्माणको लागि फाउण्डेशन खन्ने क्रममा पुरानो पुलको फाउण्डेशन भएको जमिन भासिन पुगेको हो । त्यही जमिन भासिएको ठाउँमा ग्याविन जाली लगाएर सवारी सञ्चालनमा ल्याइएको थियो । अहिले फेरि जाली लगाएकै ठाउँमा भ्वाङ परेको स्थानीयले बताएका छन् । एकतर्फी सडक संचालनमा ल्याइए पनि हिजैदेखि जोखिम भने टरेको थिएन । 

खबरपाटी
खबरपाटी