आर्थिक मुद्दामा चेम्बर र महासङ्घले सहकार्य गर्ने

निजी क्षेत्रका नेतृत्वदायी संस्था नेपाल चेम्बर अफ कमर्स र नेपाल उद्योग वाणिज्य महासङ्घबीच आर्थिक मुद्दामा सहकार्य गर्ने समझदारी भएको छ ।

आर्थिक मुद्दामा चेम्बर र महासङ्घले सहकार्य गर्ने

काठमाडौं । निजी क्षेत्रका नेतृत्वदायी संस्था नेपाल चेम्बर अफ कमर्स र नेपाल उद्योग वाणिज्य महासङ्घबीच आर्थिक मुद्दामा सहकार्य गर्ने समझदारी भएको छ । महासङ्घका नवनिर्वाचित अध्यक्ष चन्द्रप्रसाद ढकालसहित कार्यसमितिलाई चेम्बर भवनमा स्वागत गर्न आयोजित कार्यक्रममा चेम्बर र महासङ्घबीच उच्च व्याजदर, अख्तियारसम्बन्धी विधेयकलगायतमा समान धारणा बनाएर अघि बढ्ने समझदारी बनेको हो ।

सो क्रममा चेम्बरका अध्यक्ष राजेन्द्र मल्लले मुलुकको अर्थतन्त्रलाई मजबुद बनाउन र निजी क्षेत्रको आवाजलाई सङ्गठित बनाउन चेम्बर र महासङ्घले समन्वय गर्नुपर्ने बताउनुभयो । चेम्बर र महासङ्घबीचको सम्बन्ध स्थापनाकालदेखि नै नङ र मासुको जस्तो भएको स्मरण गराउँदै उहाँले आगामी दिनमा पनि आर्थिक एजेण्डामा साझा धारणा बनाएर अघि बढ्नुपर्नेमा जोड दिनुभयो । 

अध्यक्ष मल्लले भन्नुभयो, “मुलुकको अर्थतन्त्र र निजी क्षेत्रसँग जोडिएका विभिन्न विषयमा सरकारले आश्वासन दिने तर कार्यान्वय नगर्ने अवस्था सिर्जना भएको छ । सरकारलाई ध्यानाकर्षण गराउनका लागि पनि निजी क्षेत्रका अग्रणी संस्थाले साझा धारणा तय गरेर अघि बढ्न जरुरी छ ।”

महासङ्घका अध्यक्ष ढकालले पनि आर्थिक मुद्दालाई सम्बोधन गर्न संयुक्त पहल गर्नुपर्नेमा जोड दिनुभयो । विद्यमान अर्थतन्त्रको चुनौती सामना गर्न निजी क्षेत्र एक भएर अगाडि बढ्नुपर्ने उहाँको भनाइ छ । अध्यक्ष ढकालले भन्नुभयो, “चेम्बर र महासङ्घको आर्थिक मुद्दा एउटै छ, । अख्तियार क्षेत्राधिकारसम्बन्धी विधेयक, उच्च व्याजदर जस्ता विषयमा एउटै स्वर बनाउनसमेत आवश्यक छ ।” रासस

खबरपाटी
खबरपाटी