काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले उद्योगका क्षेत्रमा आधुनिक प्रविधिको प्रयोग गर्न आग्रह गर्नुभएको छ । चितवन उद्योग सङ्घले आजदेखि यहाँ आयोजना गरेको सातौँ चितवन अन्तर्राष्ट्रिय औद्योगिक प्रदर्शनीको उद्घाटनका क्रममा बोल्दै उहाँले आधुनिक प्रविधिबाट उद्योग सञ्चालन गर्नुपर्ने बताउनुभयो ।
उद्योग र उद्योगीबिना नेपाल बन्न नसक्ने भन्दै उहाँले उद्योग क्षेत्रलाई आधुनिक बनाउनुपर्ने बताउनुभएको हो । लगानी र व्यावसायिक हिसाबले सस्तो र सहज हुने भएकाले उद्योग क्षेत्रलाई आधुनिक बनाउनुपर्ने बताउनुभएको हो । उहाँले भन्नुभयो, “लगानी गर्न तयार रहनुस् वातावरण बनाउने काम सरकारले गर्छ ।”
उद्योगी व्यवसायीको समस्या समाधान गर्न सरकार तयार रहेको उहाँको भनाइ थियो । उहाँले भन्नुभयो, “उद्योगी व्यवसायी आतिनुपर्ने अवस्था छैन ।” सकारले उद्योगीको हितमा काम गर्ने उहाँले बताउनुभयो ।
घरेलु तथा साना उद्योग महासङ्घका अध्यक्ष उमेशप्रसाद सिहंले देशको अर्थतन्त्र विषम परिस्थितिमा रहेको भन्दै यसलाई उकास्नु सबैको जिम्मेवारी रहेको बताउनुभयो । उद्योगी विदेश पलायन हुने स्थितिबाट सरकारले जागाउनु आवश्यक रहेको उहाँको भनाइ थियो ।
नेपाल उद्योग परिसङ्घका वरिष्ठ उपाध्यक्ष राजेश अग्रवालले उद्योग गर्ने वातावरण सरकारले बनाइदिन आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, “उद्यमशीलता आफैँमा सहज छैन । राज्यले वातावरण बनाइदिनुप¥यो ।” उद्योग सङ्घ चितवनका अध्यक्ष त्रिलोचन कँडेलले चितवनको उद्योग र उद्योगीको अवस्थाका बारेमा जानकारी गराउनुभएको थियो । उहाँले यही अवस्था रहेमा उद्योग पूर्णरूपमा बन्द हुने अवस्थामा पुग्ने बताउनुभयो ।
उद्योग तथा व्यवसाय गर्न इच्छुक नवउद्यमीलाई लक्षित गरी आयोजना गरिएको यस प्रदर्शनीमा भारत, चीन, मलेसियालगायतका १० विदेशी कम्पनीले सहभागिता जनाएका छन् । प्रदर्शनीमा स्वदेशी तथा विदेशी गरी एक सय ५० स्टल रहेका छन् । औद्योगिक मेशिनरी, प्रविधिसहित निर्माणजन्य, कृषिजन्य, अटोमोबाइल, फर्निचर, इञ्जिनियरिङ, मेटल, प्रिन्टिङ, प्याकेजिङ, प्लास्टिक, पर्यटन, फुड एण्ड बेभरेजेज तथा अन्य सेवामूलक उद्योगको उत्पादन प्रदर्शनीमा राखिएको छ ।
आधुनिक प्रविधिको अनुसरण गर्ने र औद्योगिक अनुभव तथा ज्ञान आदानप्रदानमार्फत उद्यमशीलताको विकासमा सहयोग पुग्ने उद्देश्यका साथ सञ्चालन गर्न लागिएको प्रदर्शनीका लागि रु दुई करोड ५० लाख खर्च हुने अनुमान गरिएको आयोजकले जनाएको छ ।रासस