काठमाडौं । दशवर्षे जनयुद्वका क्रममा धादिङ जिल्लाभित्र भएका घटनाक्रम र क्षति विवरण समेटिएको पुस्तक ‘जनयुद्धमा धादिङ’ सार्वजनिक गरिएको छ । एनएस मिडिया धादिङले प्रकाशन गरेको ‘जनयुद्धमा धादिङ’ नामक पुस्तकको आज बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले लोकार्पण गर्नुभएको हो ।
पुस्तकमा २०५२ देखि २०६२ सालसम्मको सशस्त्र द्वन्द्वमा हत्या गरिएका विद्रोही पक्ष, संसद्वादी दल, राज्य पक्षका व्यक्ति र सामान्य नागरिकको विवरणसमेत समेटिएको छ । तत्कालीन दलका नेता तथा कार्यकर्ता, सामान्य नागरिक, सेना, प्रहरीलगायतको क्षतिको विवरण, बेपत्ता पारिएकाको विवरण पनि पुस्तकमा समेटिएको छ । द्वन्द्वका कारण अभिभावक गुमाएका र विस्थापित भएका नागरिकको विवरणसहित संस्मरण र ऐतिहासिक तस्बिर समावेश गरिएका छन् ।
जनयुद्वका क्रममा धादिङमा ज्यान गुमाउने एक सय ९३ जनाको विवरण पुस्तकमा समावेश गरिएको छ । पुस्तकमा उल्लेख भएअनुसार जनयुद्वमा नीलकण्ठ नगरपालिकामा ४७, त्रिपुरासुन्दरीमा ३३, बेनीघाट रोराङमा २५, सिद्धलेकमा १२, ज्वालामुखीमा छ, नेत्रावती डवजोङमा १४, गङ्गाजमुनामा १०, खनियाबासमा छ, गजुरीमा सात, थाक्रेमा १३, धुनीबेँसीमा ११, गल्छीमा आठ र रुवीभ्यालीमा एक जनाले ज्यान गुमाएका थिए ।
द्वन्द्वका क्रममा विस्थापित भएका व्यक्ति तथा परिवारका पाँच सय ५८, अपाङ्गता भएका व्यक्ति तथा परिवार ५१, अपहरणमा परेका ३३, टुहुरा भएका सात जनाको विवरण पुस्तकमा समावेश छ । यो विवरण शान्ति तथा पुनःनिर्माण मन्त्रालयअन्तर्गत द्वन्द्व प्रभावित व्यक्ति, परिवार तथा संरचनाको लगत सङ्कलन कार्यदलबाट निकालिएको एनएस मिडियाका प्रबन्धक तथा पुस्तकका प्रधान सम्पादक नारायण सिलवालले जानकारी दिनुभयो । बेपत्ता, घाइते, अपाङ्गता भएका, विस्थापितको तथ्याङ्क सङ्कलनमा सक्दो प्रयास गरे पनि केही त्रुटि र छुट हुनसक्ने भएकाले यसलाई पुनर्लेखन गर्दै सच्याउँदै जाने उहाँले बताउनुभयो ।
“जनयुद्धमा धादिङ’ नामक पुस्तक प्रकाशन गरेर जनयुद्धको अवधिमा धादिङमा भएका महत्वपूर्र्ण अभिलेख सुरक्षित गर्ने कामको सुरुआत गरेका हौँ । यो पुस्तकले १० वर्षे जनयुद्धको इतिहासलाई दस्तावेजीकरण गरेको छ”, सिलवालले भन्नुभयो ।
धादिङमा सहादत भएका अन्य जिल्लाका २४ तत्कालिन बिद्रोही माओवादी कार्यकर्ताको पनि विवरण पुस्तकमा छ । जनयुद्धका अवधिमा जिल्लाभित्र भएका लडाइँ तथा भिडन्तमा सहभागीको संस्मरण तथा अनुभव पनि पुस्तकमा छ । कालिकोटको कोटबाडा सुन्थराली विमानस्थल निर्माणका क्रममा काम गरिरहेका मजदुरमाथि नेपाली सेनाको हेलिकोप्टर आक्रमणबाट धादिङका १८ जनासहित हत्या गरिएकाको विवरण पनि पुस्तकमा समावेश गरिएको छ ।
पुस्तक लोकार्पण गर्दै मुख्यमन्त्री जम्कट्टेलले १० वर्षे जनयुद्धको घटनाक्रम समेटिएको पुस्तकले एउटा इतिहास समेटेको उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, “सशस्त्र सङ्घर्ष व्यवस्था र राज्य परिवर्तनसँग जोडिएको इतिहास हो । यो इतिहास हामी सबैले स्वीकार गरेका छौँ ।”
धादिङ क्षेत्र नं २ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य रामनाथ अधिकारी, नेकपा ९एमाले० की नेत्री राधिका सापकोटालगायतले पुस्तकले १० वर्षे जनयुद्ध, नेपालमा शान्ति सुरक्षा, वार्ता, त्यतिबेला भोगेका भोगाइ र गरिएका प्रयास स्मरण गराएको बताए । रासस