तटबन्ध निर्माणले बाढीको डर हट्यो

शुक्लाफाँटा नगरपालिका–१ स्याली नदी तटीय क्षेत्र खजुवापट्टीका स्थानीयलाई बाढीको डर हटेको छ ।

तटबन्ध निर्माणले बाढीको डर हट्यो

काठमाडौं । शुक्लाफाँटा नगरपालिका–१ स्याली नदी तटीय क्षेत्र खजुवापट्टीका स्थानीयलाई बाढीको डर हटेको छ । नदीले बर्सेनि भूक्षय गरेर जग्गा बगाउने पिरलो पनि अब छैन । नदीमा तटबन्ध निर्माण हुन थालेपछि स्थानीयले बाढीको चिन्ता हटेको हो ।

तटबन्द निर्माणका लागि सुदूरपश्चिम प्रदेश सरकारको रु २५ लाख लगानी हुने भएको छ । दुई सय मिटर तारजालीको प्रयोग गरी ढुङ्गाको तटबन्ध निर्माण सुरु गरिएको छ । नगरपालिकाले तटबन्ध निर्माणका लागि अपुग भएका क्षेत्रमा रु १० लाखको लागतमा ८५ मिटर तटबन्ध निर्माण अघि बढाइएको छ ।
 
गाउँ नजिकैको केही वर्षअघि निर्माण गरिएको कल्भर्ट पर्खाल भत्किएपछि मर्मत सम्भारका लागि वडा कार्यालयले रु पाँच लाख बजेट विनियोजन गरी निर्माण अघि बढाएको छ ।
 
“नदीमा बलियो तटबन्ध निर्माणको कार्य नहँुदा बर्सेनि बाढी जग्गा बगाएर लैजान्थ्यो”, स्थानीय लालबहादुर चौधरीले भन्नुभयो, “बर्सेनि बस्ती सार्नुपर्ने बाध्यता थियो, तटबन्ध निर्माण काम भएपछि ढुक्कसँग बस्न पाइने भएको छ ।” 

केही वर्षअघि नदीको बाढीले जग्गा बगाउनुका साथै धेरै परिवारलाई घर सार्न बाध्य बनाएको सम्झना गर्दै रतन चौधरीले भन्नुभयो, “गाउँको बालविकासको भवनसँगै रहेको शौचालय नदीले बगाएपछि तटबन्ध निर्माणका लागि विभिन्न निकाय भन्यौ तर निर्माण भएन, नगरपालिकाका जनप्रतिनिधिको पहलमा तटबन्ध निर्माण हुँदा बाढीको त्रासमा बाँच्नुपर्ने अवस्थाको अन्त्य भएको छ ।”

“माघीको समयमा गाउँमा आयोजना गरिएको सांस्कृतिक कार्यक्रममा नगर प्रमुखसहितका जनप्रतिनिधिलाई डाँकेर गीतमार्फत यस क्षेत्रको बाढीको अबस्था बारे विस्तृतरुपमा वर्णन गरेर जानकारी दियौँ”, अञ्जना चौधरीले भन्नुभयो, “वडाध्यक्ष, नगर प्रमुखलाई गीतको मार्मिकताले छोयो, यस क्षेत्रको अवस्थाबारे जानकारी भयो, निरीक्षण गरेपछि तटबन्ध निर्माण गरियो ।”

तारजालीको तटबन्धसँगै उत्तरतर्फका क्षेत्रमा नेपाल राष्ट्रिय समाज कल्याण सङ्घ ९एनएनएसडब्लुए० एमरेड परियोजना र नगरपालिका कार्यालयको साझेदारीमा नदीमा एक सय ५० मिटर जैविक तटबन्ध निर्माण अगाडि बढाइएको छ ।
 
नदीको तीव्र कटानी रोकथामका लागि जैविक तटबन्ध निर्माण भइरहेको वडाध्यक्ष उत्तरदेव भट्टले बताउनुभयो । “खजुवापट्टी गाउँ नदीको उच्च जोखिमा थियो”, उहाँले भन्नुभयो, “जोखिमको अवस्थालाई हेरेर तटबन्धका योजना यस क्षेत्रमै राख्ने गरी कार्य गरेका छौँ ।” 

उहाँका अनुसार जैविक तटबन्ध निर्माणका लागि नगरपालिकाले रु एक लाख ४३ हजार पाँच सय ७३ र परियोजनाको तर्फबाट रु ९० हजार १२० रकम खर्च गरिएको छ । स्थानीयले रु ३९ हजार छ सय ५० को जनश्रमदान गरेका छन् । नगर प्रमुख रणबहादुर महराले नदीमा जैविक तटबन्ध निर्माण  गरी भू–क्षय हुने कार्य रोक्नका लागि पहल गरिएको बताउनुभयो । 

तटबन्धको प्रभावकारितालाई हेरेर थोरै बजेटमा धेरै ठाउँमा तटबन्ध गर्न सकिने जैविक तटबन्धका योजनालाई अगाडि बढाइने उहाँले जानकारी दिनुभयो । नदीको किनारमा बाढीले गर्नसक्ने जग्गा कटानीलाई रोक्न तथा हुनसक्ने सम्भावित क्षतिको न्यूनीकरणका लागि विभिन्न जैविक तथा अजैविक स्रोत ९बाँस, पलाष्टिक वोरा, स्याउला, बालुवा र मानवीय स्रोत०को उच्चतम प्रयोग गरेर तटबन्ध निर्माण गरिएको परियोजनाका संयोजक महेश घिमिरेले बताउनुभयो ।
 
“जैविक तटबन्धनले बाढीको पानीलाई मानवबस्तीमा पस्नबाट रोकेर समुदायलाई प्रत्यक्षरूपमा बाढी प्रकोपको सम्भावित क्षतिबाट जोगाउँछ”, उहाँले भन्नुभयो, “नदी छेउका खेतीयोग्य जमिन कटानी हुनबाट जोगाउँछ र बाढी आएको बेलामा पानीको बेगलाई नियन्त्रण गरेर मूलधार तिर फर्काउन मद्दत गर्दछ ।” 

जैविक तटबन्धनमा विभिन्न किसिमका बोटबिरुवा लगाइने भएकाले प्राकृतिक तथा जैविक विविधता संरक्षणमा महत्वपूर्ण योगदान पु¥याउने कार्यसँगै भूक्षय हुनबाट जोगाउने उहाँको भनाइ छ । गाउँमा तीन सयभन्दा बढी परिवारको बसोबास छ । रासस

खबरपाटी
खबरपाटी