हुलाकी सडक निर्माणलाई गति दिन प्रमुखको निर्देशन

विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले विराटनगर–५ स्थित हुलाकी सडक निर्माणलाई गति दिन निर्माण कम्पनीलाई निर्देशन दिनुभएको छ ।

हुलाकी सडक निर्माणलाई गति दिन प्रमुखको निर्देशन

काठमाडौं ।विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले विराटनगर–५ स्थित हुलाकी सडक निर्माणलाई गति दिन निर्माण कम्पनीलाई निर्देशन दिनुभएको छ ।

निर्माण कम्पनीका प्रतिनिधिलाई मङ्गलबार महानगरमै बोलाएर स्थानीयवासीले धेरै नै सास्ती व्यहोर्नुपरेकाले छिटो निर्माण गर्न निर्देशन दिनुभएको हो । विराटनगर–५ स्थित गणेशचोकबाट केशलिया पुलसम्मको तीन  दशमलव एक सय ९५ किलोमिटर हुलाकी सडक निर्माणमा देखिएको समस्याका विषयमा निर्माण कम्पनीका प्रतिनिधिसित कोइरालाले छलफलसमेत गर्नुभयो ।

स्थानीय जनताको समस्यालाई बुझेर छिटोभन्दा छिटो सडक निर्माण सम्पन्न गर्न प्रमुख कोइरालाले निर्माण कम्पनीलाई निर्देशन दिएको प्रमुखका प्रेस सल्लाहकार मीनकुमार नवोदितले जानकारी दिनुभयो । विसं २०८० साउन १६ गतेभित्र निर्माण सम्पन्न गर्ने गरी भूमि कन्ट्रक्सनले ठेक्का लिएको थियो । तर भूमि कन्ट्रक्सन निर्माणकार्य अलपत्र पारेर सम्पर्कविहीन भएपछि देव एण्ड सायर कन्ट्रक्सनलाई निर्माणको जिम्मा दिएको हुलाकी राजमार्ग योजना कार्यालय इटहरीका इञ्जीनियर दीपेन्द्र चौधरीले जानकारी दिनुभयो ।

छलफलमा प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद कोइराला, वडा नं ४ का जितन थापा, ५ का सन्तोष न्यौपाने, महानगरका इञ्जीनियर अर्जुन थापा, निर्माण कम्पनीका इञ्जीनियर दीपक चौधरी, साइट इन्चार्ज उमेश निरौलाको सहभागिता रहेको थियो । 

स्थानीयले ढाट लगाएर आवतजावत बन्द गर्दा निर्माण सामग्री ल्याएर काम गर्न समस्या भएको साइट इन्चार्ज निरौलाले गुनासो गर्नुभयो । उहाँले पश्चिमबाट काम सुरु भइसकेकाले ढाट हटाउन पहल गरिदिन महानगर प्रमुख कोइरालासँग आग्रह गर्नुभएको थियो । वर्षात्मा हिलाम्मे र सुक्खामा धुलाम्मे भएपछि स्थानीय जनताले निर्माणकार्यलाई दबाब बढाउन ढाट लगाउनुपरेको गुनासो गरेका छन् । रासस
–––

खबरपाटी
खबरपाटी