पानी पर्न थालेपछि कुवेत र ओमानबीचको खेल रोकियो

पानी पर्न थालेपछि कुवेत र ओमानबीचको खेल रोकियो

 एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगिताको तेस्रो स्थानको लागि जारी ओमान र कुवेतबीचको खेल रोकिएको छ । टीयू क्रिकेट मैदानमा पानी पर्न थालेपछि खेल रोकिएको हो ।

कुवेतले दिएको १ सय ३१ रनको सामान्य चुनौती पछ्याउँदै ब्याटिङ गरेको ओमानले बिना विकेट ६ ओभरको समाप्तिमा ४१ रन बनाएसँगै पानी परेपछि खेल रोकिएको छ । तेस्रो हुने टिमले एसीसी इमर्जिङ टिम्स एसिया कप खेल्न पाउने छ । जसमा नेपाल र यूएईले स्थान बनाइसकेका छन् । एसीसी प्रिमियर कपबाट तीन टिमले एसीसी इमर्जिङ टिम्स एसिया कप खेल्न पाउने छन् ।

वर्षाको कारण हिजो भएको सेमिफाइनलका दुवै खेल प्रभावित भएका थिए । नेपाल र कुवेतबीचको खेल रद्द भएको थियो । ४२ ओभरमा छोट्याइएको खेलमा नेपालले कुवेतलाई २ सय ८१ रनको लक्ष्य दिएको थियो ।

तर जवाफी ब्याटिङ गरेको कुवेतले ८।३ ओभरमा ६ विकेटको क्षतिमा ३७ रन बनाएपछि भारी वर्षा भएसँगै खेल रद्द भएको थियो । त्यस्तै, ओमानलाई डीएल मेथोडमा दुई रनले हराउँदै यूएईले फाइनलमा स्थान बनाएको थियो ।

फाइनल खेल भोलि हुँदैछ । सोमबार पनि खेल हुन नसके मंगलबार रिजर्भ डे राखिएको छ । नेपाल र यूएईबीचको विजेताले एसिया कप खेल्ने छ । 

खबरपाटी
खबरपाटी